
असार ३, दैलेख
दैलेखमा लगातार वर्षा भइरहेको छ । वर्षात रोकिएको छैन, लगातारको वर्षातका कारण दैलेख विभिन्न स्थानहरुमा ११ वटा घर भत्किएका छन् । दैलेखको दुल्लू नगरपालिका वडा नम्बर ९ मा ६ वटा घर भत्किएका छन् । लगातार पानी परेका कारण दिनभर विभिन्न स्थानहरुमा ५ वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्यादुराका ३ र धामी गाउँका ३ वटा घर भत्किएको दुल्लू नगरपालिका–९ का वडाध्यक्ष रणबहादुर बोहोराले जानकारी दिएका छन् । घर भत्केपछि स्थानीयहरु आफन्तकोमा बसेको दुल्लू प्रहरीले जानकारी दिएको छ । दुल्लूमा तीन वटा घरका नागरिकहरू मात्र समस्यामा छन् अन्य तीन वटा घरहरू पुराना र मानिसहरू नबस्ने घर भएकोले भत्किएको प्रहरीले जानकारी दिएको छ । दैलेख सदरमुकाममा रहेको नमुना बस्तीमा समेत केही घर जोखिममा रहेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । घर भत्किएर समस्यामा परेका नागरिकहरुलाई स्थानीय पालिका, सुरक्षा निकायहरुको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।
पानी लगातार परेका कारण कर्णाली राजमार्गको आवतजावत बन्द गरिएको छ । बाटोमा तीन स्थानमा पहिरो गएको र पहिरो खस्ने क्रम बढेसँगै थप दुर्घटना हुन सक्ने भन्दै राजमार्गको आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । कालिकोट र सुर्खेतलाई यस बारेमा जानकारी गराइएको श्रेष्ठको भनाई छ ।
कर्णाली राजमार्ग अन्तर्गत राकम कर्णाली, साँगेतडा लगायतमा पहिरो आएको छ । पहिरो हटाउने काम पनि सञ्चालन गरिएको श्रेष्ठले बताए । दैलेख सुर्खेत सडकको गुराँसे क्षेत्रमा पनि सडकमा पहिरो खसेकोले पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ ।
दैलेख सदरमुकाम दैलेख बजारबाट ११ वटै पालिका पुग्ने सबै सडकहरु हिलोका कारण बन्द भएका छन्, मध्यपहाडी सडक खण्ड समेत अवरुद्ध भएको छ । नाली निर्माण नगरेर धमाधम निर्माण गरिएका वडा स्तर जोडिने सडकहरुमा अहिले भल हिँडेपछि सडकका सबै संरचनाहरू ध्वस्त भएका छन् ।
दैलेखको भैरवी गाउँपालिका पुग्ने सडक, नौमूले गाउँपालिका पुग्ने सडक, भगवतीमाई गाउँपालिका, महावु गाउँपालिका लगायतका पालिकाहरुमा पुग्ने सडक बर्षातले क्षति पु¥याएपछि बन्द भएका छन् ।









